निस्वार्थ प्रेम
‘मान्छेका विभिन्न भावना हुन्छन्, सबै भावना क्षणिक हुन् तर प्रेम जिवन्त रहन्छ! सुख, दुःख, विछोड, पीडा यी सबै क्षणिक हुन्। प्रेम भने कहिल्यै नास हुँदैन। र सारा संसार नै प्रेमको भरमा अडिएको छ। उमेरले तीन दशक बढि नाँघिसक्यो तर पनि मलाई विछोडका प्रेम कथाले बढी छुन्छ, बढि छट्पटाउछ।
कहिलेकाहीँ नजिकका साथीहरुले मलाई भन्छन्, ‘अब त तँ बूढो हुन थालिस् अनि के सृजना गर्या, सामाजिक संजाल (फेशबुक,टिकटक,ईन्स्ट्रा) मा यस्ता किन पोस्ट राख्या ?’……‘तन बूढो भए पनि मन त अझै जवान छ नि, मेरो भावना त उही छ, अनुहार चाउरी पर्दै–पर्दै गयो होला तर (राख्न) पोस्ट गर्न त के छ र ?,’ हैन र ?
जिबनका आरोह–अवरोह गर्दै– गर्दा बाटोमा उनिसंग भेट भयो, केही समय एउटै (अफिस) मा संगै काम पनि गर्यौँ, कामकै शिलशिलामा बिस्तारै–बिस्तारै उनिसँग प्रेम बस्यो, प्रेम मात्रै होइन महाप्रेम ! हामी घुम्न जान्थ्यौँ, घण्टौँ गफिन्थ्यौँ प्रेमालाप गथ्र्यौँ र फर्किन्थ्यौँ! स्पर्श गरेका कयौँन् पल मनमा सवार गरिरहन्छन्, अहिले पनि !
छोटो समयमै हाम्रो प्रेम त छुट्यो तर प्रेमिल अतीत उस्तै खुब आनन्दको छ। म उनलाई भूतपूर्व भन्न चाहन्नँ र सक्दिनँ पनि किनकि उनलाई प्रेम गरिरहेछु अझैसम्म। लाग्छ उनिसँगको मेरो प्रेम निकै गहिरो प्रेम हो, असाध्यै माया गर्थे उनलाई । उनिसंगै हुँदा सबथोक बिर्सिन्थ्ये र लाग्थ्यो यो भन्दा आनन्द अन्त कतै होला त? एक मै हजार भेटाएपछि हजार चाहिदो रहेनछ भन्ने पनि त्यहि बेला बुझेँ, हजारौंले दिन नसक्ने सबथोक उनी एक्लैबाट पाएँ– माया,साथ– सहयोग, सुख–दुख, सन्तोष सबै–सबै!
तर, उनि पारिवारिक समस्याको कारण छोटो समयमै काम छोड्न पुगिन् र घर तिर गईन्। घर गएको केही समय फोनमा मज्जाले कुरा गर्यौँ तर बिस्तारै उनको मनमा बदलावको भावनाले प्रबेश पायो, अनि मलाई पहिले जस्तो सम्झन छोडिन। उनिसंग कनेक्ट हुने प्रायः सबै माध्यम बन्द गरिन तर पनि मनले बाटो हिड्न कहिल्यै छोडेन, अहिले पनि त्यै शिलशिला जारि छ। आँखाले उनकै बाटो हेर्छन, कानले उनको मात्रै आवाज सुन्न खोज्छन् अनि ओठले उनकै नाम पुकारी रहन्छन्।
उनको हालचाल बुझ्न मात्रै भएपनि उनी नजिकका साथिभाईसंग सामाजिक संजालमा जोडिन बाध्य भएँ, तर खुलेर कसैलाई पनि सोध्न सक्दिन थ्येँ र छैन पनि किनकि म हाम्रो सामाजिक परम्परा अन्तर्गतको (विवाह) भन्ने बन्धनमा बाँधीएको छु। समाजलाई भन्न सक्दिनँ कि म उनलाई अथाह प्रेम गर्छु! यो कुरा आफैले आफैलाई मात्र भन्छु एकजना निकै मिल्ने साथी बाहेक।
विछोड भएपछि उनको नाममा मैले कैयन् सृजना सृजिएको छु, त्यसपछि जति लेखेँ, जति पोस्ट गरें सबै उनैप्रति समर्पित थिए र छन् पनि! र त्यो सिलसिला अझै पनि जारी छ। जति उसलाई माया गर्छु, त्यति त आफैलाई पनि गर्दिन। उसको माया भन्दा पनि बढि चिन्ता लाग्छ– कहाँ छ, कस्तो छ, के गर्दैछ, कोसंग छ आदि–ईत्यादी।
एक समय उनले जिन्दगिका हरेक मोडमा साथ दिन्छु भनेकी थिईन् त्यसपछिको मेरो उनि प्रतिको प्रेम झन बढदै गएको हो। हुन त अझैपनि उस्तै छ घटेको छैन र घट्ने वाला पनि छैन किनकी उनि मेरो जिवनको उत्कृष्ट प्रेम हुन। प्रेम कहिल्यै मर्दैन, मलाई उनको अहिले पनि खुब माया लाग्छ, खुब याद आउँछ तर उनको जीवनमा अप्ठेरो पर्ला भनेर कहिल्यै मैले उनका बारेमा खुलाउँदिनँ र सक्दिनँ पनि !
उनिसंग भेट भएपछि प्रायः मैले कोरेका जति पनि सृजना छन्, ती सबै उनकै सम्झनामा लेख्ने गरेको छु र उनलाई पात्रको रुपमा प्रतिबिम्बित गर्न खुब आनन्द लाग्छ। मेरा सृजनामा प्राय अरु पात्र नै अटाउदैनन्, अरु केहि चिजलाई प्रतिबिम्बीत गर्न मनले मान्दै मान्दैन। उनी आफै संग भएको महसुस गर्छु ।
अझैसम्म पनि उनलाई कुरिरहेछु!
आफै जान कतिसम्म मजबुरि रहेछु!
तिम्लाई सम्झदा बिर्सेछु आफैलाई,
हेर त! म पनि कस्तो निष्ठुरी रहेछु !
हुन त उनले मलाई सामाजिक संजालका हरेक माध्यममा बन्देज लगाएकि छिन् अनि फोनमा पनि, तैपनि प्रेमलाई यी कुराले खासै डिस्टर्व गर्दो रहेनछ। बरु उनिसंग बोलिरहे झगडा हुन्थ्यो होला, मनमुटाव हुन्थ्यो होला !
सामाजिक संजालका विभिन्न माध्यमबाट मैले राख्ने हरेक कुरा उनी प्रति नै समर्पण गर्ने गर्दछु। तर उनलाई यो पनि थाहा छ कि, ती जम्मै चिज मैलाई नै हुन्, मै प्रति सर्मपित छन् । उनलाई सम्झेर नै सिर्जना कोर्ने गर्छु, अझै भन्नू पर्दा मेरा प्रेमिल शब्द जति उनकै नाममा सृजना गर्न मन लाग्छ, शब्द–शब्दमा उनलाई नै पोख्न मन लाग्छ। हाँस्दा उनकै लागी हाँसिदिन्छु अनि रुँदा पनि उनकै लागी। हुन त म उनि सँग प्रेममा पर्नु भन्दा पहिल्यै विवाह बन्धनमा बाँधिसकेका मान्छे । एक विवाहित मान्छेलाई प्रेम नि गर्न छुट दिदैन मेरो समाजले, बुझ्दैन प्रेमको भावनालाई यो समाज ।
समाजले बुझ्दैन मलाई थाहा छ तर समाजले नबुझ्दैमा मैले तिमिलाई गर्ने निस्वार्थ प्रेम यहिँ सकिन्छ भन्ने त होईन नी। म अनन्त तिमीलाई यसैगरि प्रेम गरिरहन्छु। र तिमीले पनि प्रेम गर्ने अधिकार दिन्छौ नि हगि।
तिमी मनमा अग्र भागमा यसरी बसेकी छौ की कोहि कसैले त्यो क्षेत्र अतिग्रहण गर्न सक्ने आँट नै राख्दैन तर साथमा पो छैनौ त!
सामाजिक संजालको मेरो उपस्थिती देख्दा कहिलेकाहीँ साथिहरुले सोध्छन्: “विवाहित मान्छे पनि त्यसरी प्रेममा पर्छन् र?” ‘के गर्नु, प्रेम हुनलाई यस्ता कुराले मतलब नै नगर्दा रहेछन, अहिले पनि म उनलाई कति प्रेम गर्छु, त्यो यहाँ शब्दमा ब्यक्त गर्न सक्दिनँ ! निस्वार्थ प्रेम हो, केवल एउटा अनन्त भावना हो।’
म तिम्रो प्रेमी हुँ र रहिरहने छु, प्रेम गर्छु र गरि नै रहनेछु।।
