मनमा छन्

र त

छुट्छन् कि भन्ने डर छ।

डर छ- छुट्छन् कि भन्ने

र त मनमा छन्।

मन अमन नहुन्जेल

यतै बसिराखुन् बसेकाहरु

के’था!

कुनै दिन

बसेकाहरुसँग नै डर पलाओस्

र दिक्क मानोस् मन पनि

मनसँगै बेमन भएर।

र ठानोस्

एउटा मुक्ति.. उन्मुक्ति..

यादमा छन्

र त

बिर्सिन्छन् कि भन्ने डर छ।

डर छ- बिर्सिन्छन् कि भन्ने

र त यादमा छन्।

याद बिर्सना नहुन्जेल

यतै बसिराखुन् सम्झेकाहरु

के’था!

कुनै दिन

सम्झेकाहरुसँग नै डर पलाओस्

र दिक्क मानोस् मन पनि

मनसँगै बेमन भएर।

र ठानोस्

एउटा मुक्ति.. उन्मुक्ति..

र सायद

त्यो दिन

न डर रहनेछ

न याद..

र सायद

त्यो दिन

न डर रहनेछ

न मन..

-मनसरा !!