जीवनमा यात्रुहरू
सपनाबाट निस्केपछि
सपनासम्म नपुग्दासम्म
बगाईरहन्छन आफ्ना भावना

रुन्छन्
हाँस्छन्
चुप लाग्छन्

र सोच्छन्
यात्रा रोकिएको छ।

तर बुझ्दैनन्
ती जीवनका यात्रुहरू

चुप लागिरहँदा पनि
तय गरिरहेका हुन्छन् एक सपना
भावनाको राजमार्गमा

जुन रोकिनै सक्दैन
जुन रोकिनै हुँदैन।

समयका पाइलाहरू
जन्मबाट निस्केपछि
मृत्युसम्म नपुग्दासम्म
हिँडिरहन्छन् आफ्ना क्षणहरू

दुख्छन्
पीडा सहन्छन्
विराम लिन्छन्

र सोच्छन्
यात्रा रोकिएको छ।

तर बुझ्दैनन्
ती समयका पाइलाहरू

विराम लिइरहँदा पनि
तय गरिरहेका हुन्छन् एक गन्तव्य
जीवनको राजमार्गमा

जुन रोकिनै सक्दैन
जुन रोकिनै हुँदैन।

-मनसरा !!