म फर्किएँ,
कसैले भन्यो
र चुपचाप टोलाएँ।
मानौँ
फर्किएरहेको हुँदा हो
हुलबाट एक्लोपनतिर
आशाबाट शून्यतिर
अँध्यारोबाट उज्यालोतीर
मायाबाट बोधतिर..
र
बोकेर आएको होस्
एउटा मरेको सपना
टुटेको बिश्वास
र निलेको होस्
यात्राको कहाली।
म फर्किएँ,
कसैले हेर्यो
र चुपचाप फर्कियो।
मानौँ
हेरिरहेका हुँदा हो
जीवनबाट मृत्यु तिर
रङ्गबाट नीरङ्गतिर
स्वरबाट मौनतिर
बन्धनबाट मुक्ति तिर..
र
बोकेर गएको होस्
एउटा पुरानो पत्र
एकादेशको कथा
र निलेको होस्
संसारको थकान।
म बोलें,
कसैले सुनेन
र चुपचाप फर्किएँ।
मानौँ
बोलिरहेका हुँदा हो
स्वरबाट मौनतिर
अस्तित्वबाट शून्यतिर
रागबाट विरागतिर
स्मृतिबाट विस्मृतितिर..
र
बोकेर गएको होस्
एउटा भुलेको नाम
एउटा हराएको कथा
र निलेको होस्
मनको अन्तिम सत्य।
म बोलें,
कसैले सुनेन
र म चुपचाप फर्किएँ।
म फर्किएँ,
कसैले हेर्यो
र म चुपचाप फर्किएँ।
म फर्किएँ,
कसैले भन्यो
र म चुपचाप मुस्कुराएँ।
