युटुबमा सदाबहार नेपाली गितहरु टाईप गरेर १ हप्ता देखी फोहोर कोठा सफा गर्दै थिए ।गितहरु बज्दै जादा वसन्त सापकोटाको “फेरी कहाँ आँउछ र घुमेर यो बालापनको उमेर” गीत गुञ्जिदै रैछ । गीत त धेरै पटक सुनेको हो । तर, खै किन किन आज चाँही असाध्यै मन छोयो । अनि मलाई पनि मेरो बालापनको याद आयो ।
शब्द यति थोरै छ तर यहि थोरै शब्दले धेरै कुरा बोलेको हामी पाउन सक्छौँ । हो साँच्ची नै बालापन कहिले पनि फर्किएर आउँदैन । बालापन नै एउटा त्यस्तो ताकतवर शब्द हो जसलाई हरेक मानिसले भन्ने गर्छन् । “ काश हामी पनि त्यो बालापनमा फर्किएर जान पाउने भए ।”
सबै कुरा मिठो अनि सबै कुरा प्यारो हुन्छ बालापनको । जस्तो कि केही खानेकुरा खान मन लागोस् भन्ने गर्छन बिचरा ! बच्चै छ, खान मन लाग्यो होला नि त !
गल्ति गर्यो भइहाल्यो नि त सानै छ, घुम्न जान मन लाग्यो यहि बेला त होनी खान लाउन घुम्न मन लाग्ने पछि जिम्मेवारी हुन्छ ।
मेरो दिमागमा हरपलहरक्षण आईरहने सम्झना
म बुबा बाट टिउसन फिस को पैसा माग्थे
र बुबा अरू कसैलाई मागेर लेउनु हुन्थ्यो ।
आमा लाई खाना थपी दिनुस भन्दा
आमा ले कसौडी बाट आफ्नो भाग को चुबुर्को
निखारेर दिनु हुन्थ्यो हो यस्तै यस्तै कुराले पनि होला सायद धेरैलाई बालापन प्यारो लाग्छ । (मलाइ जस्तै )
आज पनि मलाई मेरो त्यही बालापनको यादले सताऊँछ, कहिलेकाँही त सोच्दा सोच्दै मन निस्सासिएर ओहो म अहिले भर्खर त्यो दिनमा जान पाए हुन्थ्यो नि जस्तो लाग्छ । जुन दिनमा मेरो साथमा मेरा प्यारा प्यारा हितैसी साथीहरु थिए । जो आज भौगोलिक मात्रै होइन मनको दुरीमा पनि टाढा भईसकेको अनुभुति हुन्छ मलाई ।
हामी घरपरिवारको आँखा छलेर फुर्सद हुने बित्तिकै कहाँ कहाँ सम्म डुल्न जान्थ्यौ । कति रमाइला थिए, ती पलहरु । जहाँ साथीको लागी गाली खानुको पनि छुट्टै मज्जा हुन्थ्यो । कति त हामी झगडा पनि गथ्र्यौँ अनि तुरुन्तै मिलि पनि हाल्थ्यौ । आज पनि मेरो स्मरणमा मेरा तिनै प्रिय साथीहरु छन् । ५० जना थियौ हामी हाम्रो कक्षामा ।
५ जनाको भने हाम्रो छुट्टै जम्बो टोली थियो जो छुट्टिएर बस्ने दुस्साहस गर्दैन थियौँ हामी । सानोमा एउटाको कुरा सुनेर हामी एकअर्कासंग झगडा गर्न पनी पछी हट्दैन थियौ र एक दुई दिनमै फेरी बोलीहाल्थेउ ।
न घरको पिर,
न पढाइ को पिर,
न भविश्यको,
बस पिर हुन्थ्यो त आज सरले के सोध्ने हो!
स्कुल गहिन्थ्यो एउटा साथिलाइ पिसाब लाग्दा ६,७ जना साथि जानुपर्ने अ रे वा !!
पढाइ भन्दा साथि ठुलो हुन्थ्यो ,
स्कुलै पछाडी रहेको जंगलमा पानी अमला खोजेर खानुको मज्जै बेग्लै हुन्थ्यो ,
गॅुरास टिपेर लेउदाको मज्जै बेग्लै हुन्थ्यो,
साथीहरु संग रबरको जोर बिजोर खेल्नुको मज्जै बेग्लै हुन्थ्यो,
भाले जुधाई र लुकामारी खेल्नुको मज्जै बेग्लै ,
त्यो बनमाराका मुन्टाको चुङ्गीखेल्नुको मज्जै बेग्लै ।
आज फेरी म तिनै साथीहरु तिनै स्कुले जीवन सम्झिएर केही शब्दहरु रङ्गाउने प्रयास गरिरहेको छु । यी कुराहरु उनीहरुसम्म पुग्ला नपुग्ला त्यो फरक कुरा हो । तर, कम्तिमा मेरो मन हल्का हुन्छ यति चाँही विश्वास छ ।
यती भनीरहदा मेरा शिक्षाका धरोहरहरु प्रिय आदरनीय गुरुहरुलाई पनी सम्झीरहेको छु ।
मुक्त्ती सर ,स्याम सर ,सपना मिस,सापकोटा सर ,झा सर ,गिता मिस ,गणेश सर ,कृष्ण सर ,बिष्णु सर ,केशब सर , सुरेन्द्र सर ,सुबेदी सर ,तारा सर ,प्रबिन सर ,यज्ञ सर ,मनोज सर ,नारायण सर ,स्वः राकेश सर सबै प्रति नमन गर्दछु साथै स्वः राकेश सर प्रति श्रदासुमन अर्पन गर्दछु ।
मेरा गुरुहरु संग खेलेका क्यारम बोर्ड ,भलीबल ,फुटबल
भ्रमन जान भनेर खेलीएको त्यो देउसी भैलो ,गोपीनी चौरमा गएको त्यो पिकनीक अबिस्मरणिय क्षण हुन ।
अतितलाई सम्झदा मन मस्तिष्कमा झट्ट आईहाल्ने पलहरु हुन जुन सदा ताजा नै रहीरहनेछन।
पाइला पाइलामा चुनौती व्यहोर्ने मान्छेले नै जीवनको मोड लिन्छ र उ ठक्करै ठक्करले खारिन्छ अनि सफल बन्छ । जीवनमा सिधामात्र होइन, बांगाटिंगा बाटामा पनि हिँड्नुपर्ने हुन्छ । कयौं काँडाहरु पन्छाउँदै त कयौंलाई टेकेर अगाडि बढ्नुपर्ने हुन्छ । मान्छेलाई लक्ष्यमा पुग्न घरको वातावरण, संस्कार, संस्कृति, समाज, साथी र शिक्षा र शिक्षकले महत्वपूर्ण भूमिका खेल्छन ।
२०६६ सालमा बिदेश हिडेको म २०६९ सालमा बिदेशबाट पहीलो चोटी नेपाल फिरेको थिएँ । घर पुगेको भोलीपल्टै आफूले पढेको स्कुललाई चक्षु–नमन गर्न स्कुलतिर लागेको थिएँ । गर्मी याम भएकाले खलखल पसीना आइरहेको थियो । स्कुलको डिलमा स्वास्थ्य चौकी /गा॰बि॰स भवन अनी उही साल र पिपलको रुख थियो । त्यो उस्तै थियो र म त्यो सिँयालमा उसैगरी सुस्ताएको थिएँ ।
त्यो सालको रुखको छायामा उत्तानो पल्टिएको थिएँ । यसरी सिँयाल तापेका बखत मेरा दिमागभरि मेरो बालापन र स्कुले जीवनको चित्र–छायाँ आइरहे । मैले भावपरक मुडमा त्यो सालको रुख एमानको फेदलाई सुम्सुम्याएको थिएँ । मान्छेले खोपिल्टा पारेर काटेका कापका घाउहरू बोकेर त्यो सालको रुख ठिङ्ग उभिएको थियो । पुराना घाउहरू पुरिँदै थिए, मान्छेले आला घाउहरू लाउँदै थिए । यो नियति वर्षौदेखि त्यो सालको रुखले भोगिरहेको थियो । यो क्रियामा मान्छेको कृत्यलाई म हेरिरहेको थिएँ र गमिरहेको थिएँ मान्छेलाई । खोई अर्काका जीवनमा कापका घाउ लगाएर किन मान्छे रमाउँछ कुन्नि !
यो सालको रुखको मलाई असाध्य माया लाग्छ । उहिले मेरो स्कुले बालापनको सिँयाल भएर आएको थियो त्यो साल । जीवनको त्राण बनेर बसेको थियो त्यो । किनकिन मेरो प्राथमिक स्कुलदेखि मा॰बि सम्म जीवन सिनेमाका पर्दामा झैं त्यो सालको सिँयालमा आइरहेथे ।
दिनको १ बजे देखी २ बजे सम्म स्कुलको हाल्फटाईम हुन्थ्यो
१ घन्टा का लागी सबैले बिश्राम पाउथे तर त्यो सालको रुखले भने अह पाउने थिएन ।दिनको १ देखी २ बजेको समय त्यहा स-साना भाई बैनी देखी दाई दिदिहरु साथीसंगीहरु गुरु-गुरुमाहरु सबैको सितलता लिने ठाऊ बन्थ्यो ।कहीले काक्रा ,कहीले फलफुल कहीले बरफ बेच्नेको ब्यापर ठाउ बन्थ्यो ।
त्यसो त मैले पढेको स्कुल विद्यालय घरबाट ५ मिनेटको पैदल दूरीमा थियो । यो स्कुल र मेरो घरको बिचमा यो साल गाछी पर्दैनथ्यो । तर स्कुल जाँदा भने यो सालको रुख सिँयाल ताप्न संजीवनी नै हुन्थ्यो । लाग्दथ्यो त्यो साल पिपल जुनीजुनी तगिरहनुपर्छ ।
अहिले पनि त्यो सालको रुख छ । रुख निकै पुरानो छ । तर उस्तै छ । उत्रै छ । यसको पनी आफ्नै कथा छ
ठ्याक्कै त थाहा भएन तर देबीको बास भएको कारणले रुख काटे देबीले नराम्रो गर्छिन भन्ने पुरानो बिस्वासले गर्दा बाँचेको छ । नत्र त कहाँ राख्दा हुन् र अहिलेसम्म ! बूढो छ र अझै मान्छेलाई शीतलता दिइरहेको छ । मान्छे अझै त्यहीँ सिँयाल तापेर सुस्ताउँछन् । हो त्यही रुखको सिँयाल तापेर बसिरहेको थिएँ म। मेरा दिमागका पत्रभरि त्यो रुखले दिएका सिँयालहरू शीतलता प्रदान गर्दै कुदिरहेथे । मेरा अग्रज हरुले बर्षौ पहीले हेर्दानी त्यत्रै थियो भन्नुहुन्थ्यो । दैबिक आडमा बसेको हुनाले त्यो बेला त्यो रुखलाई काट्न सकेनन नत्र त के बाँकी रहन्थ्यो होला र ! जुगौँजुग खाएको त्यो रुखका हाँगाहरू बुढिएका देखिएका थिए । सुकेका हाँगाहरू झर्दै थिए । फेरि पनि ऊ बाँचिरहेको थियो । अनवरत बाँचिरहेको थियो । बाँचेर लोककल्याण गरि नै रहेको थियो।
फेरि उही रुखलाई सम्झन्छु । उफ ! मैले किन त्यो रुखलेझैँ कसैलाई शीतलता प्रदान गर्न सकिनँ ! मैले न समाजलाई केही दिन सकेँ । न राष्ट्रलाई । न वरत्र सपारेँ न परत्र । यो जुनी त्यसै बर्बाद भयो है । फेरि त्यो रुखलाई गौर गरेर हेरिरहेको छु । अहिले पनि उही सेवामुखी भाव बोकेर सिँयाल दिइरहेछ र तगिरहेछ। उसलाई जीवनसँग कुनै गुनासो छैन । कुनै पश्चाताप छैन । छ त अर्कालाई शीतलता सित्तैमा दान दिने शक्ति ।
म हेरिरहेको छु । अली तल रहेको तर हाम्रो स्कुलबाट खुलस्त देखीने सुनकोसी खोलाको बलौटो अझै उसैगरी रन्किरहेको छ । उसैगरी तताइरहेको छ परिवेश । उसैगरी तातोको जीवनबोध गराइरहेछ । ‘तातो पनि जीवन हो है केटा’ भन्दैछ मलाई । ऊ तातो जीवनको आभाष दिलाइरहेछ । स्कुलको आडैमा रुख शान्ति, शीतलता र शौम्य जीवनको अर्थ बुझाइरहेको छ । तर म सात समुद्रपारि पुगेर पनि न त सुनकोसी खोलालेझैँ तातिएको जीवनबोध गर्न सकेको छु, न त सालको रुखलेझैँ चराचर जगतलाई शीतलता दिन सकेको छु । यही दोधारमा म पनि बगिरहेको छु । सास फेरिरहेको छु,तगिरहेको छु । चेतना छउञ्जेल मेरो स्कुले जीवन, सुनकोशीको रन्को र स्कुलको डिल आडैको सालको रुखलाई भने सम्झिरहेको छु । मलाई नबिर्सनू है साललगाछी !तगिरहूँ है सालगाछी !! बाँचिरहूँ है सालगाछी !!! बाँचिरहे भेट होला । पक्का होला ।
हिड्दा हिड्दै लडेको छु के काम लाग्छु भन ,
दिन दुई गुना बढेको छु के काम लाग्छु भन।
उस्ले पुस्तक किनेको त विद्वान बन्न लाइ हो ,
मैले जिन्दगी पढेको छु के काम लाग्छ भन ।
म मा चाकडी नभएरै हो अगि बढ्न नसकेको ,
दुखको पहाड चढेको छु के काम लाग्छ भन ।
मेरा जीवनका प्रिय व्यक्तिहरु तिमिहरु एउटा कुरा सधै याद गर कुनै दिन समुन्द्रमा पानी सकिएला, खोला उल्टो बग्ला यो दुनियाँको लागी चमत्कारको कुरा नै होला । तर, कहिलै तिमिहरुलाई बिर्सने दिन आउने छैन । भलै आज पहिले जस्तो कुराकानी हुँदैन, हामी भौगोलिक दुरीले पनि टाढा छौँ । तर, मेरो मनमा माया र सम्झना अझै उस्तै प्रगाढ नै छ ।
अरु अरु धेरै सम्झना लायक पलहरु छन् । सबै आज म यहाँ व्याख्या गरेर सक्दिन । आँट नै गर्ने हो भने, हामी एकअर्काको सारथी बन्नु देखी रिसाएर नबोलेकोसम्मका धेरै कथनहरु छन्
आफ्नो नामको अघिल्लो अक्षर र आफुलाई मन पर्ने केटि साथीको नामको अघिल्लो अक्षर चकले भित्ताहरुमा लेख्दै हिडेको त्यो पल ।
साथीहरुले गिज्जाएको त्यो पल मानौं एउटा पुरा फिल्मको लागि कहानी नै पुग्छ । जीवनमा धेरै साथी आए गए, धेरै भोगाई र अनुभव भए । तर, स्कुले साथीहरु मात्र जीबनका पहिला साथीहरु हुन न लोभ न डाहा न कुनै कास न त कुनै खिचातानी आहा !
जिन्दगीका तिता मिठा भोगाईहरुलाई यदी कापीमा उर्तान खोजियो भने कति कापि सकिएलान् अनि कति आँसु बग्लान आँखाबाट, त्यसैले अब म यहाँ भन्दा धेरै खोतल्न चाहन्न पुराना अतितहरु । मेरा साथीहरु संगको यात्रा अनि भोगाई यति मात्रै होइन, मान्नुस यो त मैले भर्खर लेख्न सुरुवात गरेको छु अझै कति बाँकी होलान् तर भयो आजलाई चाँही यति मै बिट मारम !!
साथमा केही थिएन त्यो पल तर खुसी थियो मन
सांच्चै फिर्ता पाइने भए, माग्थें बालापन
माग्थे त्यो स्कुले मन …..
