चिया पिउँदैगर्दा
अक्सर म मेरा बालाई सम्झिरहेको हुन्छु ।
तपाईँले कहिल्यै
चिया पिउँदै बालाई सम्झिनुभएको छ ?

खासै राम्रो कुरा त होइन
बालाई सम्झिनु पनि !
बिस्तारै-
आफ्नै सच्चाई बाहिर निस्किन थाल्छ
र हामी कोही अर्कै भइदिन सक्छौँ ।

तर सोचाईको बिडम्बना हेर्नुस् न !
सच्चाई लुक्नै सक्दैन
देखिन्छ- हामी कोही अर्कै भइरहेको
बिस्तारै बाको नजिक- नजिक भइरहेको
अनि अझै धेरै बाजस्तै भइरहेको ।

धेरै टाढा जानुपर्ने हुन्छ बादेखि
बाजस्तै बन्नका लागि !

बा पनि बिहानै चिया पिउनुहुन्थ्यो
के वहाँ पनि
चिया पिउँदै बालाई सम्झिनुहुन्थ्यो ?