जब साँझ पर्छ
झ्यालको शिरसिर हावाले
पुराना गन्ध ल्याउँछ,
तिमी सँगै थिएउ जस्तो लाग्छ।
जब साँझ पर्छ
सुनिन्छ मनको गहिराइबाट
एउटा आवाज —
“तिमी अझै पनि ममा छौ”।
तिमी भन्थ्यौ नि,
“समयले माया घटाउँदैन” भनेर!
तर देख्यौ तिमीले नै,
समयले कति सजिलै
अन्योल बनायो हाम्रो बाटो।
भुल्न देऊ
हाम्रो पहिलो हात समाउने क्षणलाई,
रुन देऊ
भित्र गुम्सिएको त्यो वियोगलाई
मौन आँसु बनेर।
तिमी भन्थ्यौ नि,
भरिएँछु भित्रैदेखि भनेर!
झर्न देऊ अन्धमुष्टि बनेर बसेका यादहरुलाई
आँखाको डिल हुँदै
झरी बनेर
आफैँ थाहा पाउनेछौ
निथ्रिनु
कति हलुको हुन्छ भनेर।
एक दिन
नियतिको पाना पल्टाउँदा
पढ्नेछौ तिमी पनि
“साँचो माया सधैं जित्दैन” भनेर।
-मनसरा !!
