कमेरो र रातो माटोले लिपेको घरमा,
माकुराले लगाएको जालो पन्छाउँदै,
घर पोत्ने चटारो हुन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंलाई भन्दै घोर्ले बोको,
घरको आगॅनमा बाँधिन्थ्यो ,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंलाई भन्दै साँचेर राखेको काक्रो,
थाक्रामै पाकेर पटपटी फुट्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

लिङ्गे पिङका लागि खाबो काट्न गइन्थ्यो,
लिङ्गे पिङको लागि डोरी बाट्न
बाबियो उठाउँदै हिँडिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंलाई भन्दै टेको लगाएर राखेको,
केरा बोटमै पहेलपुर हुन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंलाई भन्दै चिउरा कुट्न,
रातभरि धान उसिनिन्थ्यो,
भोलिपल्ट लाइन लागेर,
चिउरा कुट्न मिल गइन्थ्यो
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैं भन्दै गाउँघरका,
कुवा, पँधेरो, बाटोघाटो,
सरसफाइमा जुटिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंमा “फलानो आयो, ढिस्कानो आउँदैन रे”
भन्ने कुरा सुन्न पाइन्थ्यो,
“यसले यस्तो पठाएछ” भन्दै,
हासो-ठट्टा गर्न पाइन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

पोहोरको दशैंमा यति दक्षिणा पाइथ्यो,
अहिले कति होला भनेर,
मन मनै हिसाब-किताब गरिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

वर्ष पर्खेर बल्लबल्ल
नयाँ लुगा आङमा पर्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

अघिपछि एक टुक्रा मासुसँग
कचौराभरि झोल खाने बानी परेका
मान्छेहरूलाई आफ्नै घरमा
सिङ्गै खसी ढालिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

मुगलानीहरू हररर अत्तरको बास ल्याउँदै,
भरियालाई भारी बोकाएर,
खाँग्रे डोकामा खत्र्या-खुत्रुक सामान हाल्दै,
टेप रेकर्डर घन्काउँदै गाउँ छिर्थे,
र पो दशैं आएजस्तो लाग्थ्यो।

घरमै आफ्नो मनमोजी गर्ने गरी
प्राइभेट पिङ हाल्नुपर्छ भन्दै
बाबुआमासँग म लडीबुडी खेलिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

सधैं मकैको ढिँडो पाक्ने अगेनामा
एक्कासि धानको भात पाक्दा
अचम्म लाग्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दक्षिणामा पाएको सिक्का पैसा
खल्तिमा हालेर छन्द्र्याङ-छन्द्र्याङ हिँड्दा—
पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंलाई भन्दै गाउँभरि जमरा उम्रन्थे,
घर-आँगन हरियालीले सजिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

बिहानै पँधेराको चिसो पानीले नुहाएर,
फूलको माला गाँस्थे,
मनमा उमङ्ग बोकेर,
टीका थाप्न हिँडिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

दशैंमा बारीको फुलबारीमा
फुलेका सयपत्री र मखमलीले
गाउँ नै सुगन्धित बन्थे,
र पो दशैं आएजस्तो लाग्थ्यो।

आमाले बनाएको खसीको पक्कुले
जिब्रो रसाउँथ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

गाउँका साथीभाइसँग लिङ्गे पिङमा मच्चिँदै,
आकाश छुने सपना बुन्दै हाँस्थ्यौ,
र पो दशैं आएजस्तो लाग्थ्यो।

चौतारीमा गाउँलेहरूको कथा-किस्सा सुन्दै,
तास र गुच्चा खेल्दै दिन बिताइन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

टीका लगाउँदै हिँड्दा
कोही मान्यजनले,
“यो बजिया त छोरो मान्छे पो हो,
छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन,”
भन्दै पैसा नदिएर
जमारा मात्र हातमा राखिदिँदा
छोरी भएर नजन्मेकोमा
पछुतो मानिन्थ्यो,
र पो दशैं आएजस्तो लाग्थ्यो।

तर खै त
अहिले यो दशैंको सम्झनाले
बैराग मात्र लाग्छ।
त्यसैले मागेर पाउने भए
म त्यो बेलाको दशैं माग्थेँ।

फेरि त्यो बालापन फर्काउन मिल्ने भए,
जुनसुकै मूल्य चुकाएर भए पनि
त्यो बालापन साट्थेँ।

तर अपसोच—
अब न त त्यो बालापन फर्किन्छ,
न त त्यो दशैं नै आउँछ!

— मनसरा !!