मेरो घर जलाउनेहरू,
म चाहन्न ,
मेरो घरमा लागेको आगोको रापले
तिम्रो घर जलोस् ॥
ती आगोका झिल्काहरु
हावासंग उड्दाउड्दै ,
तिम्रो आँगनसम्म आईपुगुन्,
मेरो आमाको रुवाईमा ,
तिम्री आमाको आँसु झरोस॥
मेरो बच्चाहरुको चिच्याहट बाट
तिम्रो बच्चाहरुको निद्रा खोसोस्,
मेरो बा’को डढेको लाठीको आवाजले,
तिम्रो बाको खुट्टा सकसाओस ॥
मैले देखेको त्यो कालो धुवाँले
तिम्रो आकाश ढाकोस्,
मेरो खरानी भएको सपनाको माटो
तिम्रो खुट्टामा टाँसियोस् ॥
मेरो घर जलाउनेहरू,
मलाई तिमीहरूसँग रिस छैन,
मलाई त केवल डर छ ,
कि यो आगोको भोकले
तिम्रै छोरा–छोरीलाई पनि निलोस् ॥
किनकि आगोले कहिल्यै सोध्दैन
यो घर मेरो हो कि पराइको,
यो घर मेरो हो कि शत्रुको ॥
मेरो घर जलाउनेहरू,
मलाई चिन्ता छ ,
मेरो घरमा लागेको आगोको रापले
तिम्रो घर जलोस् ॥
मेरो प्रार्थना यही छ ,
मेरो आगोले तिमीलाई नछोओस्,
मेरो पीडाले तिमीलाई नजलाओस् ॥
किनभने
हामी सबैको घरहरू एउटै हो ,
एउटै आगाले जल्दा ,
सबैको आकाश कालो हुन्छ,
किनकि आगोले कहिल्यै सोध्दैन
यो घर मेरो हो कि पराइको,
यो घर मेरो हो कि शत्रुको
-मनसरा !!
