आज खेतमा काम गरेर बुबा ढिलो घरमा आउनुभयो
बुबा आउने बित्तिकै आमाले ” सुन्नुस त सन्तोषको बुबा.. तातोतातो कोदोको रोटि बनाइराखेकी छु, हात मुख धोएर भान्सा कोठामा आउनु..” भन्नुभयो।

दिनभर खेतमा काम गरेर आउनुभाको बुबाको अनुहार र थकान आमाले देख्नुभाको थिएन, बुबाले केही नबोली बाहिर दल्यानको खाबोको झोकमा कुर्था खोलेर झुन्ड्यानुभयो र बाल्टिनको सफा पानीमा हात मुख धुन जानुभयो तर बाल्टिनमा पानी थिएन,
मैले स्कुलको होमवर्क लेख्दै गरेको कापी राखेर हतार-हतार भित्र गाग्रीमा राखेको पानी जगमा लगेर तपाईं हात मुख धुनु म पानी हाल्दिन्छु भने..
तैंले त लेख्दै थिस हैन र? जा गएर लेख्न थाल, म आफै पानी हाल्छु, यताउता आँखा डुलाई रहन्छ? तँलाई कतिपटक भनिसके घरको सबै काम म आफै गर्छु.. तँ पढाइ लेखाइ गरेर राम्रो जागिर खा.. मैले जस्तो गरिबी झेल्नु नपरोस् तैंले पनि..

बुबा एउटा कुरा सोधौ..??
के भन्न खोजेको भन..
तपाईं जहिले ६ बजे भित्रमा घरमा आइपुग्नुहुन्थ्यो
आज किन ७:३० मा आउनुभयो..?
तँ के मेरो बाउ हुन खोज्दैछस..हुन्छ कहिलेकाही यस्तै ढिलो..
जा गएर पढ…
अनि भाइले होमवर्क लेख्यो त
त्यसलाई पढ्नै मन लाग्दैन के भन्नू बुबा..
अहिलेसम्म पढेको कुराहरुको प्रश्न गर्छु, एउटा पढेको कुरा पनि उसको दिमागमा पस्दैन..
ठिकै छ त रोटी खाएर म आफै सम्झाएर पढाउछु..
बुबाले साबुनले मिचेर हातमुख धुनुभयो, र बाहिर दल्यानको खाँबोमा झुन्डिएको गम्छाले हात मुख गोडा राम्रोसँग पुछ्नुभयो र कुर्था फेरेर चुलोमा जानुभयो।

चुलोमा आमाले तातोतातो भुंग्रोमा रोटि सेक्दै पकाउदै हुनुहुन्थ्यो.. एउटा ठुलो कचौरामा पोलेको लसुन र गोलभेटाको अचार थियोे,
आमाले थालमा रोटी हालेर बुबातिर सार्दिनुभयो
आज तरकारी नबनाको?
तपाइँलाई त रोटी सँग चटनी खान मनपर्छ होईन र
बच्चाहरु त पढ्छन, उनीहरुलाई पनि यही चट्नी ख्वाएर चट्नी जस्तै बनाउछेस…
उनीहरुको लागि तरकारी नै बनाको भए हुन्थ्यो नि.. चट्नी खाएर शरीरमा तागत कसरी आउँछ..?
यदि पिरो चट्नी सँग रोटी खाएनन भने छोराछोरी त भोकै हुन्छन् त सन्तोषकी आमा…??

एउटा कुरा भन्नुहोस् त हजुर
तपाईंले आज तरकारी ल्याएर दिनुभाको थियोे यो पकाउनु भनेर..
तरकारी ल्यार नदिए पनि पैसा त दिएर गाकै थिए नि..
केही लिएर आइनस..
केही ल्याइन..
सन्तोष र सम्झनाको लागि कापी ल्याउनु थियोे..
उनीहरुको कलममा मसि पनि सकिएको थियोे..
त्यसैले कलम ल्याएर आए, साँझमा टुकिमा बाल्ने एक लिटर मट्टीतेल पनि लिएर आए. त्यसैमा पैसा सकियो…

तरकारी पनि थिएन, खाली बिहानै गुन्द्रुक बेलुकै गुन्द्रुक त्यही भएर छिटो पनि हुने भनेर रोटी सँग चट्नी नै बनाइदिए..
आज त तिनै जना छोराछोरीले पनि मीठो मानेर खाका छन्..
तपाइँलाई मन परेन कि क्याहो..?
त्यस्तो कुरा होइन, छोराछोरीको लागि भएपनि करेसा बारिहुदो खोजेर तरकारी नै बनाउनु..

भैगो यो सब छोड्नुहोस रोटी खानुहोस..
अनि आज आउन किन ढिलो भयो नि..?
यो कुरा छोराछोरीलाई नसुनाउनु, खेत छेउको खोलामा जाली भर्ने काम खुलेको छ, दिउँसो खेतमा जाँदा त्यहाँ पनि ४ घण्टा काम गर्ने गरेको छु, बर्षौ देखिको किराना पसलको उधारो र कपडा पसलबाट ल्याको स्कुलको ड्रेस-हरुकोको पैसा तिर्ने बाकी छ. त्यसमाथि टाढाको स्कुल हातमा किताब च्यापेर जादा र फर्केर आउदा छोराछोरी थाकेर लखतरान हुन्छन्.. त्यसैले उनीहरु तिनै जनालाई यसपालि झोला ल्याइदिने बिचार गरेको छु हेर त तेरो ब्लाउज पनि फाटिसकेको रहेछ..

अनुहारमा आएको पसिना र मनमा सन्तोषको भाव देखेर श्रीमती पबि ले श्रीमान तिलकबहादुर लाई हेरिरहिन..र श्रीमान नजिक आइन र आफ्नो साडीको एक छेउले पसिना पुछ्दिन थालिन।

आमाले उफ.. उफ.. गर्दै पसिना पुछ्दिदै हुनुहुन्थ्यो
यो सबै दल्यानमा राखेको खाटमा बसेर पढ्दै गर्दा मैले लुकि लुकि हेर्ने गर्थे, जब आमाबुबाले मतिर हेर्नुहुन्थ्यो नदेखेझै गरेर आँखा किताबतिर पार्थे..

आज मेरो घरको सबै कोठामा फेन छ..चार पांग्रे गाडी छ..
दुई पाँग्रे मोटरसाइकल, स्कुटर छ..आलिसान घर छ..
तर आमाबुबा छैनन्… जसलाई म यो यैस आराम दिन सकौ..
आज सायद आमा हुनुहुन्थ्यो भने उहाँलाई चुलोमा रोटि सेक्नु पर्दैन थियोे..
बुबाको निधारमा पसिना आउँदैन थियोे…
र छोराछोरी देखि लुकिछिपी बुबाले जाली भर्ने काम गर्नु पर्दैन थियोे..
त्यसैले अहिले पनि म मन खोलेर खर्च गर्दिन.. किनकि मेरो बुबाले धेरै गरिबी पन झेल्नुभएको छ, खेत बारी त थियोे जति काम गरेपनि खानै ठिक..
जीवनभर मनमा यही अड्केर बसिरहन्छ कि मैले आमाबुबालाई एउटा आरामदायी जीवन पनि दिन सकिन…

कृपया जसको आमाबुबा साथमा हुनुहुन्छ समय हुँदै उहाँहरुको कदर गर्नुहोस्…जुन समय उहाँले देख्न सक्नुभएन, तपाईंले देखाउने प्रयास गर्नुहोस.. यो जीवनमा केही लिएर जाँदैनौं हामीले जम्मा गरेको सम्पत्ति यहीँ छोडेर जानुपर्छ।
हामी धन सम्पत्तिको लागि आफ्नै दाजुभाइ सँग झगडा गरिरहन्छौ.. हामीलाई सम्पत्ति त्यति मात्रै चाहिन्छ, कि आफ्नो मान्छेको अनुहारमा मुस्काउ लाउन सकियोस् र दुई छाक टार्न सकियोस।।