पहिले गाउँ थियो,
अहिले त केवल सम्झना बाँकी
एक जमाना थियो,गाउँमा न त रोड थियो, न बिजुली, न त धारामा पाइपको पानी।
तर…
मान्छे थिए।
हाँसो थियो, आशु थियो, र थिए एकअर्काको पीरमा रून सक्ने आँखा।
मुलबाटो धुलाम्मे हुन्थ्यो, तर त्यही धुलोले गाउँको मुटु जोडेको थियो।
सात घर परको मान्छे बिरामी पर्नासाथ आँगनमा जम्मा हुन्थे,
मर्दा पर्दा काँध हाल्न दौडिन्थे
“कसैले एक्लै महसुस गर्न नपरोस्” भन्ने भावनाले।
व्रतबन्धमा मामा हुन्थे, बिहेमा सालीले जुत्ता लुकाउँथिन्।
जन्ती हाँस्दै गाउँ आउँ आउथे
नाच हुन्थ्यो, बजा हुन्थ्यो—सबैको अनुहारमा उज्यालो हुन्थ्यो।
तर आज?
गाउँमा अब बिजुली छ, पानीको ट्याङ्की छ, पिच सडक पनि छ।
तर…
मान्छे छैनन्।
घरको ढोका बन्द छ, आँगन रित्तो छ।
ती पिँढीमा बस्ने बूढा छैनन्,
चुलोमा अन्न पकाउने आमा छैनन्।
खेल्ने बालबालिका छैनन्, बारीमा कोदालो चलाउने हात छैनन्।
बाँदर आतंक छ—मान्छे छैन।
धाराको पानी बगिरहेको छ—गाग्री बोकेर आउन सक्ने कोही छैन।
मर्दा मलामी छैन,
बिहेमा न जन्ती छन्, न रमाइलो।
शोकमा एक्लोपन, पर्वमा सुनसान।
आज गाउँका घरहरूले बाटो हेरिरहेका छन्—”शायद कोही फर्किएला” भन्ने आशामा।
पिँढीका ढुङ्गाहरू एकअर्कालाई सम्झाइरहेका छन्—”पहिले हाम्रो छेउमा मान्छे बस्दथे है…”
तर अब त चिसो सास मात्रै बाँकी छ गाउँमा।
हामी सहरमा रहर पुरा गर्दैछौं, तर गाउँको रहर भत्किँदैछ।
हामी पैसा कमाउँदैछौं, तर पुराना सम्झनाहरू रित्तिँदैछन्।
हामी के गर्दैछौं?
जब आमाको चुल्हो चिसो छ,
जब गाउँको धारा एक्लो छ,
जब घरको ढोका खोल्न कोही छैन—
त्यो समय, हामीले आफैंलाई सोध्नुपर्छ—”हामी बाँचेका छौं कि केवल बाँचिरहेको अभिनय गरिरहेका छौं?”
गाउँ बिर्सिँदै छ—रितिँदै छ—बुझ्दैछ।
अब पनि फर्किएनौं भने,
गाउँ होइन, हाम्रो मुटु नै उजाडिनेछ।
