बा बेलुकी ढिलो आउँदा,
ढोका खोल्न कुर्थे म,
उनको थकाइले भरिएको अनुहारमा,
सधैं एउटा मुस्कान हुन्थ्यो।
उनी भन्थे ,
“थकाइ शरीरको हो, मुटुको होइन”,
र मैले त्यसै दिनदेखि सिकेँको हुँ,
थकाइलाई कसरी जितिन्छ भनेर।
बारी होस् वा बजार,
शहर होस् वा चौतारी,
उनी जहाँ जान्थे,
सधैं साथमै लैजान्थे।
उनी भन्थे
“जीवन भन्नाले किताब मात्र होइन छोरा,
जुन खेतको माटोले सिकाउँछ,
त्यो पाठशालाले सक्दैन।”
कहिलेकाहीँ
उनी गाऊँका मान्छेहरूसँग
तास खेल्दै हुन्थे,
बीचमा मलाई बोलाउँथे
“हेर अनी सिक, जीवन पनि एउटा चाल हो,
तर इमानको!”
उनी मलाई
हिँड्न मात्र हैन,
लडेर उठ्न पनि सिकाइरहेका थिए।
उनी डराउँदैनथे मृत्युबाट,
तर चिन्तित हुन्थे मेरो भविष्यप्रति,
ब्रेन ट्युमरले सिकिस्त बनाएपछि,
उनलाई लागेछ- अब बाँच्दिनँ धेरै !
जो कोही परदेशबाट आउँथ्यो,
वा राम्रो जागिरमा हुन्थ्यो,
उनी विन्ती गर्थे,
“केटोलाई बाटो देखाइदेऊ,
ऊ काम गर्न त सिकिरहेको छ,
अब उसलाई उज्यालो चाहिन्छ।”
सायद मनले थाहा पाइसकेका थिए ,
छोरा एक्लो हुनेछ अब।
जब उनी बिस्तारामा थलिए,
म पहिलोपटक डराएँ,
उनी भन्दा बढी डराउँथे म,
किनकि, म अझै तयार थिइनँ एक्लिन।
उनले भने,
“छोरा, जिन्दगी जस्तो छ, त्यसैलाई अंगाल्”,
र त्यो दिनदेखि हो मैले
कठीन परिस्थितिलाई साथी बनाउन सिकेँको।
उनको अन्तिम बिदाइमा,
मैले आँसु रोक्न सकिन,
त्यती बेला उनको स्वर याद आयो
आँसु दबाउने कुरो हो केटा देखाउने होइन।
त सँग मलाई नै खाल्डोमा पुर्ने पनी हिम्मत हुनुपर्छ।
“हुन त, छोरा मान्छे रोए पनि हुन्छ,
तर लडे जस्तो कहिल्यै नदेखियेस्।”
बा,
तिमी अब देखिँदैनौ,
तर म तिमी भएर हरेक दिन बाँचिरहेको छु,
तिमी भएर हरेक सपना देखिरहेको छु,
र तिमी भएर नै,
हर हारलाई जित बनाउन खोजिरहेको छु।
बा,
तिमी अब मसँग हाँस्दैनौ,
तर तिम्रो मुस्कान मेरो आँखामा अडिएको छ।
तिमी अब मसँग हिँड्दैनौ,
तर तिम्रा पाइलाहरू मेरो मनमा बाँचिरहेका छन्।
हरेक कदममा,
हरेक सासमा,
तिमी मेरो साथी हौ,
मेरो गुरु हौ,
र मेरो अमर आकाश हौ।
बा !!
तिमीले मलाई बनाएको यो मान्छे,
आज तिम्रै कारण उभिएको छ,
तिम्रै कारण सपना देख्छ,
र तिम्रै कारण हरेक आँधीमा हाँस्न सक्छ।
बा !!
तिमी नभएको संसार,
भिडभाड त छ,
तर पनी शून्य छ।
जब म आँखा चिम्लन्छु,
तिमी सधैं साथ हुन्छौ
मेरो काँधमा हात राखेर भन्छौ ,
सिधा हिँड् छोरा,
त एउटा बाटो हैनस ,
त एउटा वंशको उज्यालो होस ॥
होसियारका साथ चालीस भने पैंताला,
आफैं जोगिन्छ खुट्टाको बुढिऔंला!
अरूसँग त सिधा सिधा नजर हुनुपर्छ।
बा,
तिमीले सिकाएको हरेक पाठ,
मेरो रगतमा बग्छ,
तिमीले देखाएको हरेक बाटो,
मेरो मनमा उज्यालो बन्छ।
जब म थाक्छु,
तिम्रो स्वर गुञ्जिन्छ–
“छोरा, मिहिनेतले बनेको पसिना,
सधैं सुनभन्दा मूल्यवान हुन्छ।”
– मेरा बा …
