गाउँ फर्किरहेको शहर

शहर फर्किरहेको गाउँबिच

कतै

सुटुक्क आएर

लुसुक्क बाटो लाग्नेगर्छ दशैँ।

अनि

अर्को एकवर्षलाई

भुसुक्कै बिर्सन्छ शहर-

गाउँको गोरेटो

घरको बलेँसी

आशिष दिने सुख्खा ओठ

थर्थर काँपिरहेका निधारमाथिका औँलाहरु

एउटा खुसीको वार्षिकी

अनि

अनुहारको करुण मुस्कान।

त्यसैगरी

फर्कन्छ मनको आँगन

बिर्सिएको स्मृतिको कुनामा

कहिलेकाहीँ

चुपचाप आएर

बस्छ एउटा पुरानो गीत।

अनि

समयको धूलोमा

हराउँछ फेरि-

आमाको काखको न्यानो

बाजेको कथाको रमझम

टाढिएको गाउँको माया

फुलेको फूलको सुगन्ध

एउटा बाल्यकालको सपना

अनि

आँखामा बाँधिएको आँसु।

कहाँ

हराउँछ यो मनको यात्रा

बिर्सिन्छ बाटोको मिठास

कतै

लुकामारी खेल्दै

उभिन्छ फेरि एउटा पल।

अनि

जिन्दगीको कोलाहलमा

लुप्त हुन्छ बिस्तारै ….

-मनसरा