मलाई थाहा छ,
तिमीले थाम्न नसकेको हात
र मैले छोड्न नसकेको वास्तबिकता
दुईटै थाकेका थिए अन्त्यमा

हाम्रा क्रोधले बोलेका शब्दहरूले
कहिल्यै चाहेका थिएनन् चोट दिन
तर विछोड कहिल्यै स्थायी थिएन

तिमीले मनमा लुकाएको म
र मैले मनमा सजाएको तिमी
फेरि भेटिनेछौँ कुनै संयोगमा

हाम्रा अधुरा स्पर्शहरू
कुनै न्यानो साँझमा
फेरि जिउन सक्नेछन्

हाम्रो मौनता
बोल्न सक्नेछन एक नजरमा

समयले राखेका ती दूरीहरू
पग्लिनेछन् अविरल धडकनमा

केही वर्ष, केही पर्खाइ पछिको
एउटै क्षण
पुनः जिन्दगी भएर आउनेछ

मलाई थाहा छ

मैले बिर्सन नसकेको नजर
फेरि भेटिनेछन् कुनै यादमा ॥

हाम्रा सपनाहरु
सम्झनाको खोलामा
फेरि तैरिन सक्छन् !

मलाई थाहा छ
तिमीले सम्हालेका पीडाहरू
र मैले बोकिराखेको मौनता
भेटिनेछन् कुनै वियोगको क्षणमा

तिमीले लेखेका अन्तिम शब्दहरू!!

मलाई थाहा छ ,
मैले पढेका अधुरा पत्रहरू
मिल्नेछन् कुनै सम्झनाको किनारमा

हाम्रा हरेक अड्किएका सासहरू
बिहानीसँगै
फेरि बग्न सक्छन्
रच्न सक्छ कुनै नयाँ मिलनको कथा

तर अझै बाँकी छन् ती
जुन बोल्नेछन् तिमी र म भएर

केही मौन क्षणहरू पछिको
एक मौनता
प्रेम भएर !!