टाढा हुनु भनेको ,
बिरानो हुनु कहॅा हो र ?
टाढै बसेर पनि,
शितल सुम्सुम्याइरहन्छ जून।
टाढै बसेर पनि,
न्यानो सेक्छ घाम।
टाढै बसेर,
आँत ठिहिर्याउँछ हिमाल।
टाढै बसेर,
निरन्तर, अविरल
ओत बनिरहन्छ आकाश !!
टाढा हुनु
सबैभन्दा नजिक हुनु पनी हो ।
हामी टाढै भएर पनि नजिक छौँ-
जसरी
टाढा बसेर पनि
शिरमाथी हात राखिरहन्छन् ईश्वर !!
धेरै नजिक हुनु भनेको ,
धेरै टाढा हुने जोखिम उठाउनु
पनी त हो नी मनसरा !!